|
गृह राज्यमन्त्री रिजवान अन्सारीले स्पेसटाइम नेटवक प्रा.लि. तथा च्यानल नेपाल टेलिभिजनका सञ्चालक जमिम शाहको हत्यारालाई तत्काल पक्राउ गर्नका लागि विशेष सुरक्षा निकाय प्रयोग गर्नेर् बताउनुभएको छ ।
रिपोर्टस क्लवद्वारा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले शाहको हत्यारालाई पक्राउ गर्नका लागि राज्यको स्रोत, साधन र शक्तिले भ्याएसम्म जतिसक्दो छिट्टो कारबाही प्रक्रियालाई अगाडि बढाइने बताउनुभयो ।
राज्यमन्त्री अन्सारीले भन्नुभयो- 'हत्यारा पातालमा ग्ाएपनि खोजेर कारबाही गर्छौ ।' राजधानीको शान्ति सुरक्षामा निकै चुनौती देखिएको उल्लेख गर्दै उहाँले विशेष सुरक्षा योजना लागु गर्ने जानकारी दिनुभयो ।
लाजिम्पाट जस्तो व्यस्त सडकमा १० मिनेटसम्म लामो घटना हुँदा पनि प्रहरीले केही गर्न सकेन, प्रहरी प्रशासन असफल भएको हो भन्ने पत्रकारहरूको जिज्ञासाको उत्तर दिँदै उहाँले भन्नुभयो,- 'प्रहरी प्रशासनमा भएको कमीकमजोरीलाई हटाएर बलियो बनाउँछौ, शाहको हत्यारालाई पक्राउ गर्नका लागि 'स्पेसल टास्क फोर्स' गठन गरी सुरक्षाकर्मी परिचालन गरिसकेका छौ ।'
|