|
प्रधानमन्त्री माधवकुमार नेपालले सरकारी संस्थाहरूले जनतालाई छिटो, छरितो र गुणस्तरीय सेवा दिन सक्नुपर्छ भन्नुभएको छ ।
नेपाल औद्योगिक विकास निगम लिमिटेडको आधुनिक बैङ्किङ कारोबारको सोमबार राजधानीमा शुभारम्भ गर्दै प्रधानमन्त्री नेपालले सरकारी संस्थाहरू सरकारमा निर्भर नभई आर्थिकरूपमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अब राज्यले सबै क्षेत्रमा हस्तक्षेप नगरी निजी क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गर्दै तर मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न बजारमा हस्तक्षेप गर्न पछि नपर्ने बताउनुभयो । प्रधानमन्त्री नेपालले निगमलाई सक्षम जनशक्ति परिचालन गरी चुस्त व्यवस्थापनबाट सुदृढ गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाल औद्योगिक विकास निगम बैङ्किङ क्षेत्रको नयाँ जीवनमा प्रवेश गरेको बताउँदै निगमले आफ्नो जोखिम र अप्ठयारो पक्ष हटाई अर्थतन्त्रलाई बलियो बनाउन सफल हुनुपर्छ भन्नुभयो ।
उहाँलेे सरकारी लगानीका संस्थाहरू किन कमजोर भए, किन पछाडि परे, हाम्रा कमी कमजोरीहरू के-के छन् यसबारेमा गहन अध्ययन गरी समयको मागअनुरूप ती संस्थाहरू व्यवसायी र प्रतिस्पर्धी हुनुपर्ने कुरामा जोड दिनुभयो ।
देशमा औद्योगिक विकास गर्ने उद्देश्यले २०१६ सालमा स्थापित निगमले सोमबारदेखि 'ख' वर्गको बैङ्कको रूपमा बैङ्किङ सेवा सुरुवात गरेको छ ।
|