|
उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले कसैको लहडले सरकार परिवर्तन नहुने बताउनुभएको छ । बाँके जिल्लाको मानपुरमा सोमबारदेखि सुरु भएको स्वर्गीय बालकृष्ण शाह स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री गच्छदारले संविधान निर्माण र शान्तिप्रक्रिया निष्कर्षमा नपुर्याइ यो सरकारले विश्राम लिदैन भन्नुभयो ।
उहाँलेे सबैलाई आ-आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर एकताबद्ध भई संविधान निर्माणमा जुट्न आहृवान समेत गर्नुभयो । उपप्रधानमन्त्री गच्छदारले संविधान निर्माणको समय नजिक आइसकेकाले सत्तामोह र पार्टीगत स्वार्थ त्यागेर राजनीतिक दलहरु त्यसका लागि एकजुट हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाको भनाइ थियो- 'माओवादीले महत्वपूर्ण र आवश्यक बिषयहरुमा अन्त्यमा गएर राष्ट्रकै पक्षमा निर्णय लिने गरेकाले संविधान निर्माणमा पनि उसले कुनै बाधा नपुर्याई सहयोग गर्नुपर्छ ।'
सो समारोहपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै मधेशी जनाअधिकार फोरम -लोकतान्त्रिक)का अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री गच्छदारले माओवादी लडाकुको टुङ्गो नलगाएसम्म शान्ति र संविधान निर्माण हुन सक्दैन भन्नुभयो ।
|