नेपाल अटोमोबाइल स्पोर्टस एशोसिएशन नासा काठमाडौं जिल्ला कमिटी र नासा वुमन बाइकर्स ग्रुपको संयुक्त आयोजनामा सम्पन्न दोस्रो वुमन बाइकर्स च्याम्पियनसिप र्याली २०१० को च्याम्पियन रञ्जना श्रेष्ठ बनेकी छिन् । गत शनिबार सम्पन्न ३६ किलोमिटर दूरिको र्यालीमा श्रेष्ठ प्रथम बनेकी हुन् ।
ललितपुरको जावलाखेलबाट शुरु भएको सो र्यालीको उद्घाटन नेपालको पहिलो महिला टेम्पु चालक लक्ष्मी शर्मा, विश्व साइकल यात्री पुष्कर शाह तथा राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव समिम मिया अन्सारीले संयुक्त रुपमा रिबन काटेर गर्नु भएको थियो ।
जावलाखेलबाट शुरु भएको र्याली लगनखेल, पुल्चोक, कुपन्डोल, थापाथली, त्रिपुरेश्वर, न्यूरोड, बसन्तपुर, क्षेत्रपाटी, सोह्रखुट्टे, लैनचौर, महाराजगञ्ज, चाबहिल, गौशाला, पुरानो बानेश्वर, नयां बानेश्वर, कोटेश्वर, गठ्ठाघर, सानो ठिमी, पेप्शीकोला, कांडाघारी, गोठाटार, जोरपाटी, दक्षिणढोका हुंदै गोकर्णस्थित नोर्लीड. रिसोर्टमा पुगेर टुंगिएको थियो । र्यालीको समापन पछि आयोजित घोषणा सभालाई अतिथिका तर्फबाट प्रथम महिला टेम्पु चालक लक्ष्मी शर्मा, अनेरास्ववियु कि केन्द्रीय अध्यक्ष रामकुमारी झांक्रीले सम्बोधन गर्दै विजयी तथा प्रतियोगी बाइकर्सहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा निर्णायक मण्डलले प्रतियोगिताको नतिजा सार्वजनिक गरेपछि विजयी प्रतियोगीहरुमा उल्लास छाएको थियो । TDS (समय, दूरि र गति ) प्रणाली अन्तर्गत जांच गरिएको उक्त प्रतियोगितामा जर्सी नं.१४ कि रञ्जना श्रेष्ठ ५५३.७ अंक सहित प्रथम भएकी थिइन भने ५५३.४ अंक सहित जर्सी नं ९ कि चमेली लामा दोस्रो बनिन् । त्यसैगरी ५५०.९ अंक सहित जर्सी नं १६ कि पलिना कंसाकार तेस्रो बनेकी थिइन् ।
विजयी प्रतियोगिहरुले क्रमशः २००००।, १००००। र ५०००। हजार नगद तथा अन्य विभिन्न पुरस्कार सहित शिल्ड तथा प्रमाण पत्र प्राप्त गरेका छन् । त्यसैगरी चौथो हुने सुरेक्षा लावती, पांचौं हुने सोनाम वाड.ग्मो घले र छैठौं हुने रोसिना शाक्यलाई पनि पुरस्कार प्रदान गरिएको थियो भने प्रतियोगी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
३५ जनाको सहभागिता रहेको उक्त र्यालीमा सहभागी हुने सबैलाई पूर्वाञ्चल ल्यूव आईलका तर्फबाट एक एक वटा पिएलओ मोबिल प्रदान गरिएको थियो भने अस्री ज्वेलर्सका तर्फबाट डिष्काउण्ट कुपन प्रदान गरिएको थियो । त्यसैगरी नासाको अफिसियल मिडिया अटो नेपालले पनि प्रथम हुनेलाई एक वर्षको, द्वीतीय हुनेलाई छ महिनाको र तृतीय हुनेलाई तीन महिनाको लागि अटो नेपाल माशिकको निःशुल्क ग्राहक सुविधा प्रदान गरेको छ ।
नासा काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कृष्ण दुलालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन नासा काठमाडौंका सचिव दामोदर नेपालले गर्नु भएको थियो । कार्यक्रममा अतिथि तथा प्रायोजकहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।
|