|
हात्तीपाइले रोग नियन्त्रणका लागि यहीँ फागुन ८ र ९ गते काठमाडौँ जिल्लाका सम्पूर्ण गाविस, नगरपालिका र महानगरपालिकाका सबै वडामा औषधि खुवाइने भएको छ ।
स्वास्थ्य सेवा विभाग, जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सो दिन हात्तीपाइले रोग नियन्त्रणसम्बन्धी औषधि खुवाउन स्वयंसेवकहरू घरदैलो मै पुग्नेछन् । एक प्रकारको परजीवीबाट सङ्क्रमित लामखुट्टेले टोकेपछि सर्ने सरुवा रोग हात्तीपाइला -फेलेरिया) रोग जो सुकै व्यक्तिलाई पनि लाग्न सक्छ ।
यो रोग लागेपछि खुट्टा सुन्निने, अण्डकोष सुन्निने -हाइड्रोसिल), महिलाहरूमा स्तन सुन्निने, यौनाङ सुन्निने जस्ता लक्षण देखापर्छ । वर्षमा एक दिनको उपचारबाट पाँच वर्षसम्म यो रोग लाग्नबाट बच्न सकिन्छ, यस कार्यक्रमअन्तर्गत खुवाइने अल्वन्डाजोल र डिइसी चक्की एकदमै सुरक्षित र धेरै वर्षदेखि प्रयोगमा आएको बताइएको छ ।
औषधि खाएकामध्ये कसैलाई शरीरमा हात्तीपाइलेको परजीवी छ भने टाउको दुःख्ने, पेट दुःख्ने, रिङ्गटा लाग्ने, वाकवाकी आउने, बान्ता हुनेजस्ता सामान्य असर हुनसक्ने भए पनि एक दुई दिनपछि आफैं सन्चो हुने जनाइएको छ । दुई वर्ष मुनीका बच्चा, गर्भवती महिला, सात दिनका सुत्केरी तथा सिकिस्त बिरामीबाहेक सबैले यो औषधि सेवन गर्न सक्ने विभागले जनाएको छ । औषधि खाली पेटमा नलिन अनुरोध गरिएको छ ।
विभागले यो रोगविरुद्धको औषधि सबै नगरवासीले अनिवार्यरूपमा लिएर यस रोग निवारणमा सहयोग गर्न अनुरोध गरेको छ ।
|