|
महाकवि देवकोटा शताब्दी महोत्सवका सन्दर्भ तथा नाट्यसम्राट बालकृष्ण समको १०८औँ जयन्तीका अवसरमा राष्ट्रका विविध क्षेत्रका ३० जना महानुभावलाई आइतबार राजधानीमा महाकवि देवकोटा शताब्दी सम्मान तथा पुरस्कार समर्पण गरियो ।
सो सम्मानबाट सम्मानित हुनेमा बालसाहित्यतर्फ भुवनेश्वरी सत्याल र शान्तदास मानन्धर हुनुहुन्छ ।त्यसैगरी समाजसेवी हेमा मानन्धरलाई महाकवि देवकोटा शताब्दी कदरपत्र प्रदान गरियो ।
साथै रू.२५ हजार राशिको देवकोटा शताब्दी पुरस्कार कान्तिपुर रेडियोकर्मी हेम सुवेदीलाई प्रदान गरियो । देवकोटा शताब्दी स्नातकोत्तरस्तरीय निबन्ध पुरस्कार टङ्कराज गौतम, प्रकाश आस्था, लक्ष्मी अर्याल, विमल आचार्य 'आरोही' र सुधादेवी आचार्यलाई प्रदान गरियो । यी पुरस्कारका राशि जनही रू.१० हजार रहेका छन् ।
काठमाडौँ उपत्यका विद्यालयस्तरीय देवकोटा शताब्दी बालकाव्य पुरस्कारबाट अक्षि सुवेदी, असीम कँडेल, आनन्द अग्रवाल, कृष्णप्रसाद उप्रेती, चाँदनी श्रेष्ठ, नम्रता पाण्डे, नवीना ढकाल, शिवानी सिन्हा, सोमबहादुर घिसिङ, हिना केसी पुरस्कृत हुनुभयो । यी पुरस्कार जनही रू.पाँच हजार राशिका हुन् ।
जनही रू.पाँच हजार राशिको काठमाडौँ उपत्यका विद्यालयस्तरीय देवकोटा शताब्दी बालचित्र पुरस्कार अर्पण ज्ञवाली, एलिना चौधरी, कविराज राई, देविका किजु, निशा गुप्ता, पलिस्था महर्जन, मनसा शाक्य, रविसन दुवाल, विज्ञता कार्की, श्रुयसा दाहाललाई समर्पण गरियो ।
समारोहमा पुरस्कृत व्यक्तिलाई खनुप्देरु रामबाबुले माल्यार्पण गर्नुभएको थियो । महोत्सवका अध्यक्ष मोदनाथ प्रश्रतिको सभापतित्वमा सम्पन्न सो समारोहमा बालकृष्ण सम फाउन्डेसनका संयोजक प्रा.डा.गार्गी शर्मा, बालकविता महोत्सवका संयोजक प्रा.डा.चूडामणि बन्धु, बालचित्रकला महोत्सवका संयोजक गोविन्द भट्ट, देवकोटा शताब्दी स्नातकोत्तरस्तरीय निबन्ध महोत्सवका संयोजक प्रा.राजेन्द्र सुवेदी, सदस्यसचिव नरेन्द्रराज प्रसाईं र त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईंले महोत्सवबारे प्रकाश पार्नुभएको थियो ।
|