निकै चर्चा परिचर्चा र हो हल्लाका साथ एनआरएनएको चौथो बिश्व सम्मेलन सकिएको झण्डै ३ महीना बित्दैछ । नव निर्बाचित आइसिसीले करीब २ महीना पछि थप सदस्यहरु र सल्लाहकारहरु मनोनित गर्दै पुर्णता पनि पाएको छ र महत्वपुर्ण कुरा धेरैले चाहे मुताविक नै डा. उपेन्द्र महतो एनआरएनएको प्रमुख संरक्षकको रुपमा रहनुभएको छ ।
यसैबिच दोहोरो नागरिकताका बारेमा कमसेकम एनआरएनए भित्र दुई मत छैन भन्ने कुरा तमाम एनसिसीहरुद्वारा यस मागलाई सम्बन्धित राजदुतावास मार्फत एकसाथ औपचारिक रुपमै प्रस्तुत गरेबाट प्रष्ट भएकै छ । तर यो भन्दा पनि अझ बढी महत्वपुर्ण यस संघ (एनआरएनए)लाई दर्ता गर्ने लगायतका केही अन्य बिषयहरु भने अहिले पनि शायद ओझेलमा परेका छन या आवश्यक पहलकदमीको अभावमा अहिलेसम्म पेण्डिंग नै रहेका छन ।
एनआरएनए ५३ मुलुकहरुमा बिस्तारित भैसक्दा यसमा निहित बिबिधता पनि झनै फराकिलो भएको छ । जापान, अमेरिका, युरोपका एनआरएन, मध्यपुर्वका एनआरएन, मलेशिया, कोरियाका एनआरएन अनि बर्माका एनआरएनमा ठुलै बिविधता प्रत्यक्ष देख्न सकिन्छ । तर सबै एनआरएनहरुको स्वदेशप्रेम र त्यही प्रेम भावनामा श्रीजित सहयोगी र रचनात्मक सोंचमा भने सबैमा समानता पाइन्छ । गैर राजनैतिक, गैर नाफामुखी, गैर धार्मिक र गैर साम्प्रदायिक जस्ता चारित्रिक बिशेषताहरुले एनआरएनएलाई सबैको साझा संगठन त बनाएकै छ, यो बिशुद्ध साझापनलाई जोगाई राख्न एनआरएनएकै लागि त्यत्तिकै चुनौतिपुर्ण पनि रहंदै आएको छ ।
एनआरएनए लाई आफ्नो नितान्त ब्यक्तिगत स्वार्थ सिद्ध गर्ने माध्यम बनाउन खोज्नेहरु, यसको नाम र छबीलाई आम नेपालीहरु र समग्र नेपालको हित भन्दा पनि आफ्नो ब्यक्तिगत फाइदाको लागि दुरुपयोग गर्न खोज्नेहरु अनि यस संघलाई कुनै दल बिशेष, कुनै जाति या सम्प्रदाय बिशेष या कुनै बिशेष बर्ग या झुण्ड बिशेषको अखडा बनाउन खोज्नेहरु पनि एनआरएनए भित्रै नभएका होइनन । संघको नयां नेतृत्वले यस्ता ब्यक्ति र प्रबृत्तिहरुको बेलैमा पहिचान गर्न जति जरुरी छ, त्यस्ता प्रबृत्तिहरुलाई बेलैमा नियन्त्रण र निरुत्साहित गर्न पनि त्यत्तिकै जरुरी हुन्छ ।
अग्रगमन नेपाल र नेपालीहरुकै बर्तमान चाहना र आवश्यक्ता हो । अग्रगमनबाट मात्रै प्रगति र परिवर्तन सम्भव हुन्छ । परम्परा र प्रचलनहरुलाई आवश्यक्तानुसार तोड्दै अघि बढन सक्नुपर्दछ । एनआरएनएभित्र पनि बिभिन्न दस्तावेजहरु तयार पार्दै जाने तर कार्यान्वयनमा भने अपेक्षाकृत तत्परता र लगनशिलताको अभाव देखिने गरेको छ, फलतः थोरै मात्रै सफलतामा चित्त बुझाउनुपर्ने परिणति हाम्रो सामु छ । खहरे खोलाको पानी न त बिद्युत उत्पादनमा प्रयोग हुन्छ न त सिंचाईमा नै, परन्तु त्यसले बाढीको प्रकोप निम्त्याउन सक्दछ । अतः एनआरएनएका राष्ट्रिय तथा अन्तराष्ट्रिय भेलाहरुमा देखिने बाढीलाई होइन परन्तु एनआरएनएका ती खोला तथा नदीहरुमा रहने पानीको न्युनतम र नियमित बहाव के कति छ त ? त्यो नाप्नैपर्ने स्थिती देखिएको छ ।
एनआरएनए सामाजिक संस्था नै भएकाले सामाजिक दायित्वबाट पन्छिन मिल्दैन पनि । आखिर \\\'नेपालीले नेपालीलाई\\\' भनिसकेपछि नेपालीहरुकै समस्याहरुमा कसरी बिमुख हुनसकिन्छ र ? हाल साउदी अरब लगायत खाडी मुलुकहरुमा नेपालीहरुका समस्या यति धेरै छन कि सरकार या कुनै एक संस्थाको मात्र प्रयास र पहलमा ती समस्याहरु निराकरण हुने कुनै सम्भावना देखिदैन । सबैको साझा सामुहिक प्रयासबाट मात्र केही सफलता हासिल हुनसक्दछ । यसैले सबैका बिचमा आपसी सहयोग र सहकार्य अपरिहार्य देखिन्छ ।
एउटा कटु सत्य यो पनि हो कि नेपालीहरुलाई समस्या या बिचल्लीमा पार्नमा पनि मुलतः नेपालीहरु नै जिम्मेवार देखिन्छन, चाहे त्यो नेपाली कामदारहरुलाई भाग्न बाद्य पार्नमा होस या महिला कामदारहरुलाई खाडी मुलुकहरुमा बेचेर बिचल्ली पार्नमा होस, यसरी ँनेपालीले नेपालीलाईू भन्ने युक्ति यहांपनि लागु भएको छ तर कुन अर्थमा ?१
एनआरएनएले सच्चा दिलले चाहेमा र सम्बन्धित सबैको सहयोग हुन सकेमा सरकारी निकाय र प्रबासका सामाजिक संघ संस्थाहरुका बिचमा समन्वयकारी भूमिका खेल्न सक्दछ जसबाट माथि उल्लेखित समस्याहरुलाई सम्बोधन गर्नुका अतिरिक्त अरुपनि सकारात्मक र रचनात्मक कार्य गर्न सकिन्छ । तर यसो गर्न पनि सम्बन्धित सबै आफ्नो निजी स्वार्थ, दलगत -राजनैतिक) स्वार्थबाट माथि उठन र बर्गिय, क्षेत्रिय, जातिय या साम्प्रदायिक संकिर्णताबाट बाहिर निस्कन जरुरी हुनआउंछ ।
२५ मिलियन नेपालीहरुकै काया पलट गर्ने अभियानमा जुटेको यो संस्थाले २५ लाख एनआरएनहरुलाई पनि त्यत्तिकै ख्याल गर्नैपर्ने सामाजिक जिम्मेवारी देखिन्छ । एकथरी एनआरएनहरु महान दाता बनी च्यारिटीमा चम्किरहनु अनि अर्कोथरी एनआरएनहरु प्रबासमा खान बस्न समेत नपाई कोही पुलमुनि त कोही बिभिन्न थरीका बन्द तथा खुल्ला जेलहरुमा आफ्नो उन्मुक्ति र उद्धारको प्रतिक्षामा तडपीरहनु को समायोजन खोज्नैपर्ने देखिएको छ । थरी थरीका ठगी, अन्याय र उत्पीडनबाट निस्कने यी रोदन र चित्कारहरु पनि त आखिर एनआरएनकै हुन ।
एनआरएनहरुले \\\'एनआरएन बैंकू चाहेका थिए, मागेका थिए तर ब्यवहारमा \\\'सानिमा बैंक\\\' नै \\\'ख’ श्रेणी बाट \\\'क’ श्रेणीमा उक्लिएको छ । अब सानिमा बैंकलाई कति एनआरएनहरुले आफ्नो बैंक भन्लान र सामुहिक स्वामित्व महशुस गर्दै सामुहिक लगानी गर्लान ? फेरि पनि धेरै एनआरएनहरुले डा. उपेन्द्र महतोज्यूले उद्घोष गर्नुभएको ँसामुहिक लगानीू को प्याकेजलाई पर्खिबसेको र त्यसैमा धेरै आसावादी पनि रहेको बस्तुगत स्थिती देखिन्छ । त्यसो त खासगरी खाडी मुलुकहरु, मलेशिया र कोरियामै काम गर्नेहरु पनि कसैले पनि आंफूंले आर्जेको रकम बिदेशमा बिदेशी बैंकमा राखेको स्थिती होइन, सबै रकम आखिर स्वदेशमै गएको र अधिकांश रकम त आफ्नो घर परिवारमै खर्चिने गरेको सर्वेक्षणका प्रतिवेदनमा पढ्न पाइन्छ तर पनि थोरै थोरै नै भएपनि सामुहिक रुपमा लगानी गर्दा राष्ट्र निर्माणमा बिशेष योगदान पुगी बिकासमा फड्को मार्न सकिएला कि भन्ने आम अपेक्षा हो । यसैले सामुहिक लगानीको प्याकेज अब छिटै नै आउनै पर्दछ, यो शुभ कार्यमा ढिलाई नहोस ।
अन्तमा एनआरएनएको सांगठनिक संरचना \\\'अस्थिपञ्जर’ जस्तो नरहोस, यो मांसपेशी र नशा सहितको सबल र सुदृढ संरचना बन्नसक्नुपर्दछ जसका लागि यस संघका तमाम साधारण सदस्यहरुलाई लक्षित गरी उनीहरुले चाहेका कार्यहरु गर्नुपर्ने हुन्छ । आवश्यक्तानुसार बिकेन्दि्रत, बिस्तारित र जनमुखी बन्दै अघि बढ्नुपर्दछ अनि यस संघका कुनैपनि जिम्मेवार पदाधिकारीहरुले संघको प्लेटर्फम र सञ्जालमा रहेर आफ्ना लागि होइन, अरुका लागि काम गरेको देखिओस, ब्यक्तिगत स्वार्थको गन्ध कतैपनि नआओस । ब्यक्तिगत स्वार्थको गन्ध कतैपनि नआओस ।
प्रतिकृयाका लागिः dharamkc@yahoo.com