ad image
ad image
ad image

एन.आर.एन.ए. अन्तर्राष्ट्रिय हेल्थ एण्ड हाइजिन कमिटिको  “विश्व स्तन क्यान्सर जागरण सेमिनार” सम्पन्न

0
Shares

यहि अप्रिल २९ गते आईतवार विहान ९ बजे (अमेरिकी पूर्वीय, समय) स्काईपमार्फत संसारभरिका ९ विभिन्न देशमा (नेपाल, अमेरिका, संयुक्त अधिराज्य, जर्मनी, रसिया, अष्ट्रेलिया, दक्षिण कोरिया, साउदी अरविया, तान्जानिया) रहेका स्वास्थ्य विशेषज्ञहरु, एन.आर.एन अगुवाहरु, र अन्य सहभागीहरु सम्मिलित “विश्व स्तन क्यान्सर जागरण सेमिनार” सफलतापूर्वक सम्पन्न भयो I एन.आर.एन.ए. को इतिहास मै सम्भवत: पहिलोचोटी भएको यस्तो कार्यक्रमको आयोजना “एन.आर.एन.ए. अन्तर्राष्ट्रिय हेल्थ एंड हाइजिन कमिटि” ले गरेको थियो I कार्यक्रममा नेपालबाट डा. सुजिता हिराचन (अध्यक्ष, नेपाल स्तन क्यान्सर प्रतिष्ठान) र हर्षित श्रेष्ठ (प्राविधिक, एन.आर.एन.ए. सचिवालय) को उपस्थिति थियो I अमेरिकाबाट गौरी जोशी (अमेरिका क्षेत्रीय संयोजक, एन.आर.एन.ए.),डा. संजीव सापकोटा (सभापति, एन.आर.एन.ए. हेल्थ एंड हाइजिन कमिटि), गोबिन्द श्रेष्ठ (उप-सभापति, एन.आर.एन.ए. हेल्थ एंड हाइजिन कमिटि), विश्वमान आङ्गदेम्बे (प्रेस संयोजक, एन.आर.एन.ए. हेल्थ एंड हाइजिन कमिटि), र डा. वर्षा मोक्तान (सदस्य, एन.आर.एन.ए.)को उपस्थिति थियोI त्यस्तै संयुक्त अधिराज्यबाट डा. दिलिप कुमार यादव, जर्मनीबाट कुमार पन्त (उपाध्यक्ष, एन.आर.एन.ए.), रसियाबाट बद्रि के.सी. (महासचिव, एन.आर.एन.ए.), अष्ट्रेलियाबाट प्रीति शर्मालक्ष्मण श्रेष्ठ, दक्षिण कोरियाबाट जुनु माया गुरुङ, साउदी अरवियाबाट यास्मिन बेगम, र तान्जानियाबाट शिव प्रसाद शर्माको उपस्थिति थियोI कार्यक्रमको सबै पूर्वतयारी, स्वास्थ्य विशेषज्ञहरुसँग संयोजन, र पूरा कार्यक्रमको सुरुवात र रूपरेखा सार्वाजनिक स्वास्थ्य र महामारीका विशेषज्ञ डा. संजीव सापकोटाले गरेका थिए भने कार्यक्रमको सह-संयोजन र संचालन गोविन्द श्रेष्ठले गरेका थिए I

कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका सभापति समेत रहेका डा. संजीव सापकोटाले सबै स्वास्थ्य विशेषज्ञहरु र एन.आर.एन अगुवाहरु तथा अन्य सहभागीहरुलाई विदाको दिनका वावजुद समाजको हीतको लागी अत्यावश्यक यस्तो जागरण छलफलमा समय दिएकोमा आभार प्रकट गर्दै भविष्यमा यस्तो कार्यक्रमलाई निरन्तरता दिने कुरा राख्नुभयो I कार्यक्रमका प्रमुख अतिथिको रूपमा बोल्दै नेपाल स्तन क्यान्सर प्रतिष्ठानका (एन.बी.सी.एफ.) अध्यक्ष डा. सुजिता हिराचनले आफ्नो संस्थाको उदय, कामकार्य, र उदेश्यको बारेमा बोल्नुभयो I आफ्नो संस्था करिव ४ वर्ष संचालनमा आएकोमा यस्तो छोटो समयमै ४० भन्दा बढी “मेडिकल क्याम्प” (अधिकांश स्तन र पाठेघर क्यान्सर सम्बन्धि) सचालन गरेको कुरा राख्नुभयो I आफ्नो संस्थामा छिटो र छरितो कार्यवाहीको लागी जम्मा ७ जना मात्र, त्यो पनि स्वास्थ्य क्षेत्रकै दिग्गजहरु, “बोर्ड अफ डाइरेक्टर” मा रहेको कुरा राख्नुभयो I

स्तन क्यान्सर सम्बन्धि जानकारीहरु (श्रोत: डा. सुजिता हिराचन)

१. “विश्व स्वास्थ्य संगठन” का अनुसार वर्षेनी ५ लाख २२ हजार महिलाहरु स्तन क्यान्सरबाट मृत्यु हुन्छन I

२. नेपालमा महिलामा हुने क्यान्सरबाट मृत्युमा “पाठेघर” पछिको दोश्रो बढी मृत्युको कारण “स्तन क्यान्सर” हो I

३. स्तन क्यान्सर विभिन्न कारण बाट हुन सक्छन I केही खाले महिलाहरुमा यो बढी पाहिएको छ – ५५ वर्ष पार गरेर ढिलो महिनावारी बन्द भएको, ३१ वर्ष पार गरी पहिलो बच्चा भएको, स्तनपान सम्भव भएर पनि कम गराएको वा गराउदै नगराएको I

४. जम्मा १०-१५% मात्रै वंशानु हुन्छ I अस्वस्थ्य जीवनयापन र खाद्य शैलीले पनि स्तन क्यान्सर हुन सक्छ I

५. स्तन क्यान्सरका लक्षणहरु निम्न प्रकारका छन् – स्तनमा नदुख्ने  मासुको डल्लो, छालामा सुन्तला रंगको बुट्टा, निप्पलबाट रगत वा पानी चुहिने, निप्पल भित्र पसेको,इत्यादि I

स्तन क्यान्सरका स्टेजहरु (श्रोत: डा. सुजिता हिराचन)

पहिलो स्टेज: यो स्टेजमा पत्ता लागे ९०% भन्दा बढी बाँच्ने सम्भावना हुन्छ I यो स्टेजमा २-५ सेन्टिमिटरको टूमोर हुन्छ I सारा लक्षण स्तनमा मात्र देखिन्छ I

२. दोश्रो स्टेज: यो स्टेजमा काखिमुनी सरेको हुन्छ I काखिमुनी मासुको डल्लो देखिन्छ I

३. तेस्रो स्टेज: अन्य अंगमा सरिसकेको हुन्छ I बाँच्ने सम्भावना १०% भन्दा कम हुन्छ I

४. चौंथो स्टेज: शरीरभरीका विभिन्न अंगहरुमा फैलिसकेको हुन्छ I  बाँच्ने सम्भावना १०% भन्दा कम हुन्छ I

त्यस्तै दोश्रो वक्ताको रूपमा बोल्दै प्रीति शर्मालेअष्ट्रेलियामा यस्तो स्वास्थ्य सम्बन्धि संजाल बनिसकेको र न्यू-जील्याण्डमा पनि सुरु भएको कुरा राख्नुभयो I भविष्यमा पूरै ओसियाना क्षेत्रलाई समेट्ने “स्तन क्यन्सार प्रतिष्ठान” बनाएको कुरा राख्नुभयो I साथै नेपालीमा स्तन क्यान्सर सम्बन्धि ब्रोसर र छोटो श्रव्य-दृष्य भएको कुरा राख्नुभयो I

तेश्रो वक्ताको रूपमा बोल्दै संयुक्त अधिराज्यका डा. दिलिप कुमार यादवले आफु “एन.आर.एन.ए.  यु.के. स्वास्थ्य संयोजक” भएको हिसाबले पूरै संयुक्त अधिराज्यमा “स्वस्थ खानपान र जीवनयापन (हील)” कार्यक्रम संचालनमा ल्याएको कुरा राख्नुभयोI अबको ३ हप्तामा संयुक्त अधिराज्यकै सबैभन्दा बढी नेपाली बसोवास गर्ने क्षेत्रमा “स्वास्थ्य जनचेतना र सिविर” संचालन गर्ने जानकारी दिनुभयो I सो कार्यक्रममा “स्तन क्यान्सर” सम्बन्धि कुरा पनि राख्ने कुरा  गर्नुभयो I

स्तन क्यान्सरको स्व-परिक्षण  (श्रोत: डा. दिलिप कुमार यादव)

घरैमा जो-कोही महिलाले पनि आफैले महिनावारी भएको ३ दिन पछि “स्तन क्यान्सर” परिक्षण गर्न सकिन्छ I

१. दुईवटै स्तनहरू उस्तै, उत्रै, र उही आकारको छ कि छैन? छैन भने तुरुन्त स्वास्थ्य जाँच गराउनेI

२. स्तनमा कुनै “मासुको डल्ला” छ कि छैन ? छ भने तुरुन्त स्वास्थ्य जाँच गराउने I

३. दुईवटै हातहरु माथि उचाल्द एउटा स्तन माथि र अर्को तल जान्छ कि जाँदैन? जान्छ भने तुरुन्त स्वास्थ्य जाँच गराउने I

४. काखीभित्र “मासुको डल्ला” छ कि छैन ? छ भने तुरुन्त स्वास्थ्य जाँच गराउने I

कार्यक्रमका संचालक गोबिन्द श्रेष्ठले अप्रिल २८ मा सम्पन्न विस्कंसिन्को मिल्वाकिमा सम्पन्न “स्वास्थ्य सिविर” को बारेमा सानो जानकारी दिनुभयो I अन्तमा निम्न कुराहरुलाई कार्यक्रमबाट “फलो-अप” गर्नुपर्ने भन्दै समापन भयो I

१. नेपालमा ४० वर्षभन्दा बाढीका महिलालाई (जो बढी जोखिममा हुन्छन) कम्तिमा ६ महिनाको एक पटक अनिवार्य  “स्तन क्यान्सर” नि:शुल्क जाँच गराउन स्वास्थ्य मन्त्रालयलाई एउटा “म्यामोग्राफी” र ३ वर्षमा कम्तिमा १ चोटी “भिडियो एक्स-रे” गर्न मेसिन “नेपाल स्तन क्यान्सर प्रतिष्ठान” लाई उपलब्ध गराउन एन.आर.एन.ए. संजालबाट पहल गर्ने I (प्रास्तावक: डा. सुजिता हिराचन, डा. दिलिप कुमार यादव)

२. “एन.आर.एन.ए. हेल्थ एण्ड हाइजिन कमिटि” को “गूगल ड्राइव” मा संसारको कुनैपनि कुनामा भएका कार्यक्रमका रिपोर्टहरु संकलन गरी राख्न “सेन्ट्रल रेपजीटरी” र संसारभरीका स्वास्थ्य सम्बन्धि वा स्वास्थ्य संजालमा रहेका व्यक्तिहरुको सुचना संकलन गरी राख्न “सेन्ट्रल डाटावेस” निर्माण गर्ने I  (प्रास्तावक: विश्वमान आङ्गदेम्बे)

३. हरेक महिनाको अन्तिम आइतवार विहान ९ बजे (अमेरिकी पूर्वीय समय) स्वास्थ्य सम्बन्धि फरक फरक विषयमा नियमित कायक्रम संचालन गर्ने I (प्रास्तावक: विश्वमान आङ्गदेम्बे)

२० बैशाख २०७५, बिहीबार २२:५१ मा प्रकाशित
ad image