ad image
ad image
ad image

लाप्राक नमूना वस्तीका निर्माणाधिन घरहरु लाभग्राहीलाई आवण्टन

0
Shares
लाप्राक नमूना वस्तीका निर्माणाधिन घरहरु लाभग्राहीलाई आवण्टन

गैर आवासीय नेपाली संघका अध्यक्ष र धार्चे गाउँपालिकाका अध्यक्षको रोअबरमा लाप्राक नमूना वस्तीका निर्माणाधिन घरहरुको स्वामित्व निर्धारण गरिएको छ ।

गत ४ मार्च २०१८ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ्गको समुपस्तिथितिमा लाप्राक नमूना वस्तीका निर्माणाधिन घरहरु कुन लाभग्राहीलाई कुन क्षेत्रको कुन नम्वरको घर पर्ने हो गोलाप्रथा द्वारा निर्धारण गरिएको हो ।
संघका अध्यक्ष भवन भट्टले एक वर्ष अघि घर निर्माण सम्बन्धी समझौता गरेका लाभग्राहीहरुलाई निर्माण कार्यमा सहभागीता गराउन गोलाप्रथा मार्फत उनीहरुको घर छुट्याईएको बताउनु भयो । साथै उहाँले अब आउने गैरआवासीय नेपाली दिवसको अवसरमा सबै घरहरुको निर्माण सकेर औपचारिक हस्तान्तरण गर्ने लक्ष्य राखेको हुँदा निर्माण कार्यलाई तिव्र पार्नकोलागि समेत स्थानीय सहभागीता बढाउन घर छुट्याईएको बताउनु भयो । यो कार्य आधिकारीक रुपमा घर हस्तान्तरण नभई पुनर्निर्माणमा भूकम्प पिडितको आफ्नोपन होस भनेर छुट्याईएको र पुनर्निर्माणमा आफ्नो घरमा लागग्राहीको थप सहयोग प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्दै सम्पूर्ण निर्माण प्रकृया सम्पन्न भएपछि मात्र आधिकारीक रुपमा हस्तान्तरण गरिने बताउनु भयो ।

यसैगरी संघका उपाध्यक्ष सपीला राजभण्डारीले अब आउने गैरआवासीय नेपाली दिवसमा सबै घर निर्माण गरी हस्तान्तरण गरिने योजना रहेको हुँदा निर्माण कार्य सोही अनुरुप तिव्र रुपमा भईरहेको जानकारी दिनु भयो । साथै उहाँले अब सबै लाभग्राहीहरुको प्रमाण चेक जाँच गरी औपचारिक रुपमा घर निर्माण सकिए पछि हस्तान्तरण गरिने जानकारी गराउनु भयो ।

धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ्गले लाप्राक नमूना वस्तीको निर्माणमा गैरआवासीय नेपाली संघले गरेको योगदान प्रति आभार प्रकट गर्नु हुँदै उहाँले निर्माण कार्य समयमै सम्पन्न गर्न स्थानीय वासी र आफ्नो तर्फबाट भरपुर सहयोग रहने र लाप्राक भेदभाव बिनाको एक नमूना वस्ती बन्ने धारणा राख्नु भयो ।

सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितमा गत् २०७३ साल वैशाख १२ गतेका दिन लाप्राकमा नेपला सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाल संघको त्रिपक्षिय सम्झौता भएपछि लाप्राकमा निर्माण कार्यको सुरुवात भएको थियो । यसै सन्दर्भमा लाप्राकमा एक वर्ष अगाडी गैरआवासीय नेपाली संघले पुनर्निमार्णाका लागि लाभग्राही संग भएका काठ, माटो ढुंगा र अन्य निर्माण कार्यमा काम लाग्ने सामग्रीहरुका साथै उनीहरुको सहभागीता सुनिश्चित गराउन उनीहरुसंग सम्झौता गरेको थियो । हाल निर्माणाधीन घरहरु क्लस्टर अनुसार छुट्टाइएको छ ।

यस परियोजनाको निर्माण कार्यमा सहयोग गर्नको लागि नेपाली सेनाको एक टोली नै परियोजना स्थलिभित्र रही कार्यरत रहि आएको छ । यस अलावा नेपाल सरकार स्थानीय सरकार र स्थानीय समुदायले यस परियोजना समयमै सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । कार्यक्रममा संघका अध्यक्ष र उपाध्यक्ष, धार्चे गाउँपालिका अध्यक्षको अतिरिक्त नेपाली सेनाको प्रमुख सेनानी चन्दनसिंह थापा, सेनानी गणेशमान सिंह बस्नेत, गैरआवासीय नेपाली संघ मानार्थ समितिका सदस्य सुभाष अधिकारी र संघका प्रमुख कार्यकारी अधिकृत डा हेमन्त दवाडी लगायत स्थानीय जनप्रतनिधिको सहभागीता रहेको थियो ।

२५ फाल्गुन २०७४, शुक्रबार २३:२५ मा प्रकाशित
ad image