ad image
ad image
ad image

मकर सङ्क्रान्ति, माघी र योग दिवस सम्पन्न

0
Shares
मकर सङ्क्रान्ति, माघी र योग दिवस सम्पन्न

काठमाडौँ- माघ महिनाको पहिलो दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु भएको अवसरमा आज स्नान, दान गरी मकर सङ्क्रान्ति मनाइएको छ ।

साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिन स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिँदै आएको छ । आज माघे संक्रान्तिका दिन वाग्मती, त्रिशूली, वेत्रावती, इन्द्रावती, देवघाट, कालीगण्डकी, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । तराईवासीले पनि माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रुपमा मनाएका छन् ।

विशेष गरी तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघमा गर्नाले यस लोकमा सुखशान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वास छ ।

आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले न्यानो प्रदान गर्छन् । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हाडलाई तिलको तेलको मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ ।
यसैगरी थारु समुदायले आज माघी पर्व उन्मुक्ति दिवसका रुपमा मनाउन शुरु गरेका छन् । यो पर्व पाँच दिनसम्म मनाइन्छ । आजै राष्ट्रिय योग दिवस–२०७४ का अवसरमा शिक्षा मन्त्रालयको आयोजनामा ‘योग गरौँ, रहौँ निरोग’ भन्ने नाराका साथ आज यहाँ पदयात्रा सम्पन्न भयो ।  रासस

१ माघ २०७४, सोमबार २०:२२ मा प्रकाशित
ad image