वरिष्ठ प्राविधिकलाई कार्यकारीको जिम्मेवारी दिन माग

काठमाडौँ, २ साउन । वरिष्ठ प्राविधिकलाई कार्यकारीको जिम्मेवारी नदिने, जागीर अवधिभर स्थानीय तहमै बस्नुपर्ने भए स्थानीय तहमा गएर काम गर्न नसकिने इन्जिनियरले गुनासो गरेका छन् ।

नेपाल इन्जिनियर्स एसोसियसनले ५५औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा यहाँ आज आयोजना गरेको छलफल कार्यक्रममा इन्जिनियरले स्थानीयस्तरमा गएर काम गर्न तयार भए पनि आधार स्पष्ट गरिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपति प्रा डा जीवराज पोखरेलले स्मार्ट सिटी÷भिलेजलगायत नयाँरुपमा बन्ने संरचनामा प्रविधिकै उपयोग बढी हुने भएकाले सो प्रविधि जानेका इन्जिनियरको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सांसद इच्छाराज तामाङले संविधानमा स्थानीय तहलाई दिइएको अधिकारसम्बन्धी मूल खाकालाई स्पष्ट पारेर कुनै दस्तावेज नआएकाले अस्पष्टता भएको बताउनुभयो ।

“राजनीतिक परिवर्तनलाई आत्मसात् गर्दै मुलुकको आर्थिक र सामाजिक रुपान्तरणमा इन्जिनियरको भूमिका महत्वपूर्ण हुन्छ, कानून मस्यौदाका क्रममा विज्ञको सहयोग नलिँदा कार्यान्वयनमा समस्या आउने गरेको छ”– उहाँले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रा हीरेन्द्रमान प्रधानले स्थानीय तहमा कति इन्जिनियर आवश्यक पर्छ भन्ने विषयमा छलफल गरी सरकारलाई सुझाव दिइनुपर्ने बताउनुभयो ।

“केन्द्र (संघ) ले सात वटा प्रदेश हेर्न सक्छ, प्रदेशले १०० भन्दाबढी स्थानीय तह हेर्न सक्छ, सक्दैन भन्ने विषयमा बहस हुनुपर्छ, स्थानीयस्तरमा विकास निर्माणका कामलाई तीव्र बनाउन त्यहाँ कति इन्जिनियर हुने हो, त्यसको संख्या किटान गरिनु आवश्यक छ”– उहाँले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले संविधानको अनुसूची ८ मा स्थानीय तहलाई तोकिएका २२ अधिकारमध्ये सात वटा इन्जिनियरसँग सम्बन्धित भएकाले संविधान कार्यान्वयनमा इन्जिनियरको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गर्नुभयो ।

सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले एउटा इन्जिनियर मात्र जीवनभर गाउँपालिकामा गएर बस्न नसक्ने भएकाले सचिवलाई पनि पठाउने व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव प्रमिला बज्राचार्यले स्थानीय तहमा पठाउन निजामती सेवामा इन्जिनियर संख्या थप गरिनुपर्ने माग गर्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका इन्जिनियर विनोद भट्टराईले स्थानीय तहमा एउटै इन्जिनियरले भवन, सडकलगायत अन्य आयोजना हेर्न नसक्ने भएकाले यस्तो अवस्था आए आफू राजीनामा दिन तयार रहेको बताउनुभयो ।

कार्यक्रममा एसोसियसनका अध्यक्ष हरेराम श्रेष्ठ, पूर्वअध्यक्ष किशोर शाक्य, नेपाल इन्जिनियरिङ परिषद्का सदस्य सिद्धि निरौला, एसोसियसनका कार्यकारी सदस्य तपेन्द्रबहादुर खड्का र प्राविधिक समिति संयोजक चण्डिका भट्ट लगायतले प्राविधिक कर्मचारीलाई स्थानीय तहमा पठाउनेसम्बन्धी स्पष्ट आधार तय गरिनुपर्नेमा जोड दिनुभयो ।

एसोसियसनको स्थापना विसं २०१९ साउन ३ गते भएको थियो । यस अवसरमा मंगलबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । छलफलमा उठेका विषयको प्रतिवेदन बनाई मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिने एसोसियसनले जनाएको छ । रासस 

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • खेम भट्ट: एक असल मान्छे । समाजको mild stone .बिचारको धनि । हामिले ऊहाबाट सिक्नुपर्ने धेरै ।।
  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...