ad image
ad image
ad image

औषधोपचारपछि अर्ना पूर्ववतावस्थामा

0
Shares

चितवन । बाढीका कारण घाँसेमैदान हिलाम्मे भएर पोषण तत्वको अभावसँगै जुकाका कारण रोगग्रस्त चितवन राष्ट्रिय निकुञ्जभित्रका अर्ना उपचारपछि पूर्ववत् अवस्थामा फर्किएका छन् ।
गत साउनको अन्तिम साता आएको बाढीले अर्ना राखिएको निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा बनाइएको खुला खोरभित्रको घाँसेमैदान हिलाम्मे बनेपछि अर्नालाई खानाको अभाव भएको थियो । खानाको अभाव र पानी प्रदूषित भएपछि अर्नालाई जुकालगायत परजीवीको संक्रमण देखिएको थियो । सोका कारण अर्ना दुब्लाउँदै जाने, च्यापु सुनिने लगायत समस्या देखिएका थिए ।

निकुञ्जका डा कमल गैरेका अनुसार हाल अर्ना पूर्ववतवस्थामा फर्किएका छन् । खानाको अभावका कारण गोलो जुकाको संक्रमण देखिएको थियो । जुकाको औषधि र पोषक तत्व खुवाइएपछि अर्ना पहिलेकै अवस्थामा फर्किएको उहाँले बताउनुभयो ।

निकुञ्जको पूर्वी क्षेत्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार अर्नालाई चना, चोकर, ढुटो, भिटामिन, नुनलगायत खानेकुरा खुवाइँदै आएको छ । यसअघि पराल खुवाइएको भए पनि घाँस पलाउन थालेपछि पराल खुवाउन छाडिएको उहाँले बताउनुभयो ।

अर्ना बचाउन गत भदौ २७ देखि दाना र घाँस दिन थालिएको थियो । उहाँका अनुसार बाढीपछि भदौ २२ र २५ गते दुई पोथी अर्ना मरेका थिए । यसअघि चिडियाखानाबाट ल्याइएका तीन अर्ना वैशाख ५, जेठ ३ र असार ७ गते मरेका थिए । कोशी टप्पुबाट १२ र चिडियाखानाबाट तीन अर्ना स्थानान्तरण गरिएकामा अहिलेसम्म पाँच अर्ना मरेका र अब १० बाँकी छन् ।

१० मंसिर २०७४, आईतवार १२:०३ मा प्रकाशित
ad image