नर्वेली विदेश राज्यमन्त्री स्कोगेन भोलि आउँदै

काठमाडौँ, ७ चैत । मुलुकको उच्च नेतृत्वसँग राजनीतिक परामर्श गर्न नर्वेका विदेश राज्यमन्त्री टोन स्कोगेन नेपालको तीनदिने औपचारिक भ्रमणमा मङ्गलबार यहाँ आउँदै हुनुहुन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राज्यमन्त्री स्कोगेनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै, उहाँले परराष्ट्रमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको यहाँस्थित नर्वेली राजदूतावासले जनाएको छ ।

नेपालको सामाजिक एवम् आर्थिक विकास प्रयासमा नेपाल सरकारसँगको साझेदारीका साथै यहाँस्थित राष्ट्रसङ्घीय कार्यालय र त्यसका विशिष्टिकृत संस्थामा नर्वेले लामो समयदेखि सहकार्य गरिरहेका सन्दर्भमा राज्यमन्त्री स्कोगेनले राष्ट्रसङ्घीय पदाधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

दूतावासका अनुसार उहाँले नर्वेको सहयोगमा सञ्चालित विकास आयोजनाको स्थलगत अवलोकन गर्नुहुनेछ भने यहाँस्थित नर्वे, डेनमार्क र फिनल्यान्ड दूतावासले महिलाको आर्थिक एवम् राजनीतिक सशक्तीकरण सम्बन्धमा आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । रासस

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु