‘वाम गठबन्धनले बहुमत पाएमा सरकारको स्थायित्व र समृद्धि’

ब्यानर न्यूज

नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापाले विश्व सम्पदा क्षेत्रमा सूचीकृतस्थल तथा अन्य प्राचीन महत्वका सम्पदास्थलको संरक्षण गर्न सकेमा विश्वव्यापीरुपमा पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभएको छ ।

एमाले टोखा नगरपालिका ६ नं द्वारा आज आयोजित चुनाव परिचालन बैठकमा उहाँले कृषि, पर्यटन, ऊर्जालगायत औद्योगिक क्षेत्रमा लगानी वृद्धि गरी रोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । देशमा स्थिर सरकार कायम हुन नसक्दा दीर्घकालीन महत्वका योजना कार्यान्वयन नभएकाले वाम गठबन्धनले बहुमत पाएमा सरकारको स्थायित्वपछि राजनीतिक स्थिरता कायम भई आर्थिक समृद्धिको मार्ग खुल्ने बताउनुभयो ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ५ अन्तर्गत एमाले प्रदेश (ख) का सहसंयोजक मनिराज डंगोलले स्थानीय तहमा विकास निर्माण तथा आर्थिक रुपान्तरणका लागि अहिले वाम गठबन्धनले ल्याएका कार्यक्रम लोकप्रिय रहेको बताउनुभयो । यसैबीच बूढानीलकण्ठ –४, पासीकोटमा वाम गठबन्धनको सम्पर्क कार्यालय आज स्थापना गरिएको छ । रासस)