जलवायु परिवर्तनका कारणले पनि मानव बेचबिखन :अनुराधा

ब्यानर न्यूज

माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले जलवायु परिवर्तन पनि पछिल्लो समय मानव बेचबिखनको कारणका रुपमा देखिएको बताउनुभएको छ ।

माइती नेपालद्वारा आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा अध्यक्ष कोइरालाले हिमाली तथा पहाडी भेगका मानिस सुखको खोजी गर्दै विदेशसम्म जाने हुनाले बेचबिखनको खतरामा परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलेको जस्तो सजिलै घाँसदाउरा, पानीलगायतका आधारभूत कुरा पाइन छोडेपछि त्यहाँका मानिस सुखका लागि विदेश जान वा तराई तिर झर्ने क्रममा दलालको सम्पर्कमा आउँदा बेचबिखनको खतरामा परेका छन् ।”

त्यसबाहेक असुरक्षित बसाइँसराइ, चेतनाको अभाव, अतिविश्वास, सुखको तीव्र चाहनाले समेत महिला तथा पुरुष तेस्रो मुलुकमा समेत बेचिने क्रम बढेको उहाँले बताउनुभयो ।

उहाँले मानव बेचबिखनको स्वरुप बदलिँदै गएको प्रसंगमा पछिल्लो समय दलालले श्रीलंका हँुदै तेस्रो मुलुकमा मानव बेचविखन बढाएको बताउनुभयो । “सञ्चारमाध्यमबाट मानव बेचबिखनबारे जनचेतना विस्तार हुनसकेमा नियन्त्रण प्रभावकारी हुन्छ, यसका लागि हरेक दिन यस विषयमा समाचार आउन आवश्यक छ” उहाँले भन्नुभयो ।

कान्तिपुर दैनिकका पत्रकार दिनेश रेग्मीले अहिले पनि ७० प्रतिशतभन्दा बढी महिला कुनै न कुनै प्रलोभनमा परी बेचिइरहेको बताउनुभयो । कडा र स्पष्ट कानूनको अभाव भएको र भएका कानूनको फितलो कार्यान्वयनका कारण मानव बेचबिखनका घटना बढिरहेको उहाँले उल्लेख गर्नुभयो ।

उज्यालो ९० मेगाहर्जका पत्रकार लक्ष्मण कार्कीले मानव बेचबिखन भन्नासाथ महिलालाई मात्र सोच्ने मानसिकता सुधार्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारीस्तरमा अहिले पनि यी विषयमा गैरसरकारी संस्थाको जिम्मा लगाई पन्छिने र जिम्मेवार नहुने प्रवृत्तिका कारण यस्ता घटना बढ्दै गएको गुनासो गर्नुभयो ।

संयुक्त राष्ट्रसंघका अनुसार सांगठनिक बेचबिखनमध्ये मानव बेचबिखन तेस्रो नम्बरमा पर्छ । पहिलोमा लागू औषध र दोस्रोमा अवैध हातहतियार बेचबिखन पर्ने बताइएको छ ।

माइती नेपालका अनुसार देशका सबै भागबाट मानव बेचबिखन भइरहेको छ । पोर्चुगल, स्पेन, मलेसिया, मकाउ, श्रीलंका, ओमन, साउदी अरब, कुवेत, केन्या र तान्जानियाजस्ता मुलुकमा नेपाली बेचिइरहेको माइती नेपालले जनाएको छ । रासस